काठमाडौं– कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।’
लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताए । उनले प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्ने बताएका छन् । ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उनको भनाई छ ।
आउँदा दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । ‘कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागि परेका छौँ’, भट्टराईले भनेका छन्, ‘दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।’