झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ । गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।
‘कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ,’ झापा कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, ‘राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौं ।’
उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार १४३ कैदीबन्दी रहेको बताए । यो कारागारको क्षमता ३५० मात्र हो ।