दाङको गढवामा हालै सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रले सर्पदंशका बिरामीको सफल उपचार गरेको छ । पहिलो पटक सर्पले डसेका दुई जना व्यक्ति निको भएर घर फर्किएको केन्द्रका स्वास्थ्य सहायक जीवराज शर्माले बताए ।
गढवा गाउँपालिका–५ का ८ वर्षीय रामकृष्ण पौडेल र गढवा ६ का ८० वर्षीया तुल्ला जोगी सर्पले डसेर बुधबार केन्द्रमा भर्ना थिए । उनीहरूको सफल उपचार भएको स्वास्थ्य सहायक शर्माले बताए । सो केन्द्रको यही असोज ४ गते मुख्यमन्त्री शंकर पोख्रेलले शुभारम्भ गरेका थिए ।
यसअघि सर्पदंशका बिरामी कपिलवस्तुको गोरूसिंगे र बाँकेको शम्शेरगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण बीच बाटोमै बिरामीको मृत्यु हुने गरेको थियो ।
गत आर्थिक वर्षमा जिल्लामा १७ जनाको सर्पदंशवाट मृत्यु भएको जिल्ला आपतकालीन उद्धार केन्द्रले जनाएको छ । जिल्लामै सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै यस क्षेत्रका स्थानीयहरूलाई टाढा जानुपर्ने बाध्यता टरेको छ ।