भक्तपुर– सस्तोमा अमेरिकी डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।
व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफूसँग प्रशस्त अमेरिकी डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई प्रहरीले शुक्रबार मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।
बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकी डलर देखाई ५ लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो ।
प्रहरीले निजहरुका साथबाट नेपाली २ लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ । पक्राउ परेको गिरोहले गत साउन ८ गते मध्यपुरथिमि–९ बोडेमा ३ लाख, साउन १९ गते सोही नपा–५ बाट ४ लाख, गत भदौ ३१ गते वडा नं २ बाट ५ लाख, यही असोज ६ गते सोही नपा वडा नं ९ बोडेबाट ९ लाख ८० हजार, असोज ८ गते सूनपा–२ बालकोटबाट ५ लाख गरेर २६ लाख ८० हजार भन्दाबढी रकम लुटपाट गरेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।