काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिने भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाडपर्व केन्द्रीत अनुगमनलाई चाँडै नै शुरु गरिने बताए । उनले बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइने बताए ।
प्रजिअ दाहालले तीनै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको जनाए । उनका अनुसार खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक सहायक प्रजिअलाई जिम्मेवारी दिएर अनुगमन गरिनेछ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अहिलेदेखि नै बजार अनुगमन गर्नका लागि चार टोली पठाइसकेको बर्ताए । उनले कोरोना भाइरस (कोभिड१९) को पिसिआर परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क लिने सात अस्पताल तथा प्रयोगशालालाई किन बढी शुल्क लिएको भन्दै स्पष्टीकरण समेत सोधिएको जानकारी दिए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा गुणस्तरहीन औषधि उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको जनाए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौजात राखिएको बताए । उनका अनुसार पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौज्दात रहेको छ ।