काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २२७ जना संक्रमित आइसियुमा उपचाररत रहेको बताएका छन् । उनका अनुसार भेन्टिलेटरमा ३९ जना उपचाररत छन् ।
संस्थागत आइसोलेसनमा ८ हजार २३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४६४ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै कुल सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा थपिए ६४५
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित जिल्लामा मोरङ, सिराह, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर गरी सात जिल्ला छन् भने शून्य सङ्क्रमित रहेको जिल्लामा सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पा रहेका छन् ।
पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।