काठमाडौं - पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीई वितरण गर्नुभएको छ ।
स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालका डा प्रभु शाहलाई पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख सामग्री हस्तान्तरण गरेका हुन् ।
उनले इलाम अस्पतालका लागि २५ थान पीपीई र १०० थान गगल्स वितरण गर्नुभएको हो । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि पनि जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए ।
उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पीपीई र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए । खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा ती सामग्री वितरण गरेको बताइएको छ ।
लकडाउन खुले पनि कोरोनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न उनले आग्रह गरे । रासस