काठमाडौं– मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्काे गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताए ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भने, ‘पहिरोबाट यस वर्ष ठूलो जनधनको क्षति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाबिना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भत्काउने कार्यले पहिरोका घटना ह्वात्तै बढेकोछ, यो ठूलो चिन्ताको विषय हो ।’ मुलुकका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्यान गुमाउनुपरेको घटनाको विवरण सुनाउँदै उनले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको जिकिर गरे ।
अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ ।
सिन्धुलीबाट प्रनितिधित्व गर्नुहुने सांंसद गणेशकुमार पहाडी भन्छन्, ‘मुलुकमा अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक बनेका छन् । एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्याङकन, योजना तथा लागतको लेखाजोखा बेगर खनिएको देखिन्छ । त्यस्ता सकडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् ।’
स्थानीय तहका जनप्रतिनिधिले मात्र होइन, सांसदसमेतको मिलोमतोमा सस्तो लोकप्रियताका लागि टोलटोलमा सडक पुर्याउने होडबाजीले हरियाली भिरपाखा पहिरोमा परिणत भएको तथा जथाभावी भएको डोजर प्रयोगले सुन्दर गाउँबस्ती ढुङ्गाको बगरमा परिणत हुँदै गएको छ ।