काठमाडौं– ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पु¥याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो ।
बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पु¥याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् ।
विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पु¥याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन । ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी–ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पु¥याएर जडान गरिएको हो ।