काठमाडौं– विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ ।
पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ ।
अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ ।
कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो । केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कूल कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए ।
स्टकहोम वातावरण इन्स्टिच्यूटले अक्सफामका लागि गरेको उक्त अध्ययन विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । विश्लेषणले एक प्रतिशतको उत्सर्जनको वृद्धिदर विश्वका अति गरिब आधाभन्दा बढी मानिसको भन्दा तीन गुणा बढी देखिएको जनाएको छ ।
नीति, वकालत तथा अनुसन्धान प्रमुख टिम गोरले चरम आर्थिक असमानता हाम्रो समाजमा विभाजनकारी मात्र होइन, यसले गरीबी न्यूनीकरणको दरलाई पनि सुस्त बनाउन बताएका छन् ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले मुलुकहरुलाई वैश्विक तापमान वृद्धिलाई ‘पूर्व–औद्योगिक स्तर’ भन्दा दुई डिग्री सेल्सियसभन्दा तल झार्न प्रतिबद्ध बनाएको छ ।
तर त्यस बेलादेखि नै उत्सर्जन निरन्तर बढिरहेको छ । धेरै विश्लेषणहरूले चेतावनी दिएका छन् कि हरित विकासलाई पूर्ण प्राथमिकता नदिएसम्म कोभिड–१९ का कारण प्रदूषणमा आएको कमीलाई जोगाएर राख्न नसकिने बताएका छन् ।
हालसम्म केबल १ डिग्री सेल्सियस विश्व तापमान बढेकै अवस्थामा पनि पृथ्वीका विभिन्न भागमा वनडढेलो, सुख्खा र समुद्री सतह बढेका कारण ठुल्ठूला आँधीबेहरी देखिएको छ ।
गोरले सरकारहरुले कोभिड–१९ को विषम परिस्थितिमा जलवायु परिवर्तन र असमानताका दुईवटा चुनौतीहरूलाई सामना गर्न विशेष पुनरुत्थान योजना अघि बढाउनुको विकल्प नरहेको बताएका छन् ।