काठमाडौं– नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ ।
वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको शुरुआत समेत भएको बताइएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गरेका थिए । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो ।
केही वर्षदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटर सहितका उपकरण सहित वाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा शुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।
सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ । यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना सङ्क्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवम् १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको छ ।