काठमाडौं– धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान हुन लागेको उनले जानकारी ।
समिट यएरले केही दिनअघि नेपालगन्ज—बाजुरा—धनगढी र धनगढी—बाजुरा—नेपालगन्जसम्म दुई चार्टर उडान गरेको थियो । यात्रु सङ्ख्याका आधारमा आगामी दिनमा समिट एयरले सुदूरपश्चिमका केही जिल्लामा नियमित हवाई सेवा शुरु गर्न सक्ने जनाइएको छ ।
प्रदेशका डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावन मार्गको कालोपत्रलगायत कामको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरिएको छ । यात्रुको सङ्ख्या बढ्दै गएमा आगामी दिनमा यी विमानस्थलमा नियमित रुपमा हवाई सेवा सञ्चालन गर्न सकिने देखिएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ । निगमसँग धनगढी रुटमा चल्ने जहाजको अभाव भएकाले काउन्टर बन्द गर्नुपरेको कार्यालयका प्रमुख हरिदत्त पन्तले बताउनुभयो । निगमले धनगढी विमानस्थलबाट कोभिड—१९ को सङ्क्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौँ—धनगढी—काठमाडौँसम्म हप्तामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा उपलब्ध गराउँदै आएको थियो ।