काठमाडौं– प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।