काठमाडौं– इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।
कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोर्टले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोर्ट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोर्ट अस्पतालमा नै प्रयोग गरिनेछ ।
कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोर्टमार्फत प्राप्त हुने बताइए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।
इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोर्टको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनीहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।