काठमाडौं– हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि सुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने, ‘नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।’
यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए ।