काठमाडाैँ– नेपाल भौगर्भिक समाजले आगामी फागनुमा १०औं नेपाल भौगर्भिक सम्मेलन आयोजना गर्ने भएको छ । समाजले २३ फागुनदेखि २४ सम्म १०औं सम्मेलन गर्ने भएको हो । १०औं नेपाल भौगर्भिक सम्मेलनका संयोजक डा. सुबोध ढकालका अनुसार कोभिडको महामारीका कारण सम्मेलन गर्न असहज हुने भएकाले मिति सारिएको हो ।
उनले भने, ‘संक्रमणको खतरा बढ्ने र देश विदेशबाट सम्मेलनमा भाग लिन आउने भू–वैज्ञानिका र इन्जिनिएरलाई समेत अनेकन बाधा अड्चनहरु आउने भएकाले सम्मेलनको मिति पछाडि सारिएको हो ।’
सम्मेलनको मुख्य नारा ‘दिगो विकास र समृद्धिका लागि भू–विज्ञान’ रहेको छ । सम्मेलनमा भूविज्ञानसँग सम्बन्धित विभिन्न १४ विधामा अध्ययन अनुसन्धानका कार्यपत्र पेश हुनाका साथै उक्त विषयमा बृहत् छलफल हुनेछ ।
संयोजक डा. ढकालले भने, ‘भू–प्रकोप, पूर्वाधार विकास, खनिज पदार्थ उत्खनन, जल विद्युतको विकास, जलस्रोत, जलवायु परिवर्तन, भौगर्भिक पर्यटन, भौगर्भिक सम्पदा संरक्षणा आदि विषयमा भूविज्ञानको प्रयोगका बारेमा अध्ययनकर्ता, वैज्ञानिक, युवा वैज्ञानिक, इन्जिनिएर र प्राध्यापकहरुका बीचमा अनुभवको आदान प्रदान र कार्यपत्रहरु पेस हुनेछ ।’
संयोजक डा. ढकालका अनुसार भूकम्प र पहिरो जस्ता भूविपद्ले आक्रान्त नेपालमा विपद्को जोखिम न्यूनीकरणमा मुख्य भूमिका रहने भूगर्भ विज्ञान, भूवैज्ञानिक, इन्जिनिएरिङ भूगर्भविद् र भूगर्भबिदहरुको उचित सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल हुने र प्राप्त निष्कर्षहरुलाई नेपाल सरकारका सम्बन्धित निकाय र नीति निर्माताहरुलाई कार्यान्वयनका लागि सुझावका रुपमा पेस गरिनेछ ।
कोभिड–१९ को जोखिम कायमै रहेमा ‘वेभ बेस्ड’ वा अनलाईन माध्यमबाट भए पनि सम्मेलन सञ्चालन गरिने संयोजक डा. ढकालले बताए । सम्मेलनको अध्यक्षता नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले गर्ने र उपसंयोजन डा. कविराज पौड्यालले गर्ने कार्यक्रम रहेको छ । संयोजक डा. ढकालका अनुसार कोभिड–१९ को बिचमा भूविज्ञानको विश्वविद्यालय स्तरका शैक्षिक कार्यक्रमहरुलाई परिरहेको असर र वैकल्पिक विधिका बारेमा समेत छलफल गरिने लक्ष्य लिइएको छ ।