काठमाडौं– बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने देखिन्छ ।
बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ । सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ । सडकको बीचभागमा बागलुङ नगरपालिकामा वितरण हुने खानेपानीको मुख्य पाइप राखिएको छ । उक्त पाइप पटक पटक फुट्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रद्युन्न श्रेष्ठले जानकारी दिए ।
सवारी गुड्नै नमल्निे गरी सडक भासिए पनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । सडकभन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले बन्न सक्ने अवस्था छैन, सवारी आवतजावत रोकेर तत्कालै सडक निर्माण थाल्नुपर्ने आवश्यकता रहेको स्थानिय टोल विकास समितिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।