काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।
डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ । थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझसम्म लाग्ने उनले जानकारी दिए । ती चार ठाउँमध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भइरहेको छ ।
दुई ठाउँमा एकतर्फी सञ्चालन गरेर त्यहाँ अड्किएका सवारी साधन पार गराएपछि दुईतर्फी खुलाइने छ । सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताउनुभयो । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि पहिरो पन्छाउन समय नलाग्ने भएको हो ।