काठमाडौं– सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो ।
दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्र अनुसार २५÷२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । ठेक्का सम्झौताअनुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाहीसमेत गरेको छ ।
कम्पनीले कारवाही गरेर थप कारवाहीस्वरुप कालोसूचिमा राख्न सिफारिस गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भने, ‘हामीले सम्झौता भएका सबै कागजपत्रसहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हौँ, कार्यालयले काजगपत्र हेरेर थप निर्णय गर्नेछ ।’
शैलुङसँग यसअघि नै ठेक्का सम्झौता भएको ठेक्का यथावत रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३० हजार र २५ हजार गरी ५५ हजार मेट्रिक टन रसायनिक मलको ठेक्का सम्झौता भइसकेको छ ।