काठमाडौं– ढोलाहिटी–सुनाकोठी सडक आगामी कात्तिकसम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाईको यो सडकमा अहिले काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ ।
सो खण्डको निर्माणको जिम्मेवारी पाएको शैलुङ निर्माण कम्पनीले काम गरिरहेकाले कात्तिकसम्म सकिने देखिएको आयोजना प्रमुख गुरु अधिकारीले बताए । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । आयोजनाले चाहेर पनि पहिले तोकिएको मापदण्ड २० मिटर चौडाईमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए ।
मन्त्रिपरिषद्को बैठकले यो लगायत उपत्यकामा बिस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, ‘कुनै पनि संरचना नभत्काई भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।’