काठमाडाैैँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । आज बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।
बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका काम कारबाहीमा केन्द्रित हुन र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सञ्चालन गर्ने जिम्मा दिएको छ । साथै राष्ट्रिय महत्त्वका विषयमा पार्टीसँग सरसल्लाह गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने, ‘दुवै अध्यक्षको कार्यविभाजन भएको छ । सरकारले राष्ट्रिय महत्त्वका विषयमा भने पार्टीसँग सल्लाह गरेर मात्र अगाडि बढ्नुपर्नेछ ।’
पार्टीको स्थायी कमिटीको बैठकले एकताको महाधिवेशन २५ देखि ३० चैतसम्म काठमाडौमा गर्ने निर्णय गरेको प्रवक्ताले बताए ।
सबैभन्दा बढी विवादित एमसिसीका बारेमा भने आजको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।