काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।
जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार स्थानीय प्रशासनसँग समन्वय गरेर राहत सामग्री सोमबार प्रभावित क्षेत्रमा पठाइनेछ।सहयोगअन्तर्गत सुनसरीको सोनापुरस्थित एसियन थाइ फुड्स लिमिटेडबाट एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस उपलब्ध गराइनेछ। यी सामग्रीको कुल मूल्य करिब ६० लाख रुपैयाँ रहेको जाजुले जानकारी दिए।प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेका बेला राहत तथा उद्धारमा सरकारसँगै निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने जाजुको भनाइ छ।‘विपद्को कठिन समयमा राज्य उद्धार र राहतमा सक्रिय छ। निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व सम्झेर सक्दो सहयोग गर्नुपर्छ,’ उनले भने।उनले विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन निजी क्षेत्रले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए।