काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गरेका छन् । आज बैठकमा बोल्ने क्रममा नेपालले आफूले उठाउँदै आएका कुरा न त कार्यदलले समेटेको छ न त अध्यक्षद्वयको प्रस्तावमा समेटिएको छ भन्दै आक्रोश पोखेकाे एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकमा नेपालले सुरुबाट उठाएको कुरा एक व्यक्ति एक पदको विषय न त कार्यदलले समेटेको न त प्रस्तावमा आएको भन्दै आक्रोश पोखेका छन् । नेपालले पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्नेमा जोड दिँदै अध्यक्षद्वयले ल्याएको १५बुँदे प्रस्तावप्रति असहमति जनाएको एक स्थायी कमिटी सदस्यले बताए ।
बिहान ११ बजेबाट सुरु भएको स्थायी कमिटी बैठकमा अहिलेसम्म नेपाललगायत ९ जना नेताहरुले आफ्नो धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए । अहिलेसम्म बोल्नेमा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, घनश्याम भुसाल, देव गुरुङ, रघुजी पन्त, भीम आचार्य, अष्ठलक्ष्मी शाक्य र मातृका प्रसाद यादव रहेका छन् ।