राजनीतिक परिवर्तनको मोडमा जोडतोडले जनताको नाम उच्चारण गरे पनि कायापलट भने नेता, उनका आफन्त र आसपासकाहरूको मात्रै हुनु नेपाली राजनीतिक परिदृश्यको विडम्बना हो । खोतल्दै जाने हो भने नेपालमा त्यस्ता नेता धेरै छन्, जो कुनै समय आदर्श र व्यवहारका असली उदाहरण छन् ।
तर समयक्रमसँगै उनीहरू आफन्त र आसपासको मोहमा फसेर आदर्शका विपरित लोकमा विचरण गरिरहेका हुन्छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसैमध्येका एक हुन् ।
उनले जीवनका उर्जाशील १४ वर्ष जेलभित्र कैद भएर बिताउनु पर्यो । समाजमा रहेको असमानता, अन्याय र अत्याचारका विरुद्ध संघर्ष गरेवापत उनलाई राज्यले कारावासमा कोचिदिएको थियो ।
पहाडी जिल्ला तेह्रथुमको आठराई, इवागाउँमा २००८ साल फागुन ११ गते जन्मेका उनी अहिले देशको सर्वोच्च कार्यकारी पदमा छन् । बसाइ सरेर परिवार झापा झरेपछि त्यतै हुर्केका उनी २०२३ सालमा कम्युनिस्ट बने । र, कम्युनिष्ट सिद्धान्तलाई पछ्याउँदै वर्ग–संघर्षको बाटो चुनेर शसस्त्र क्रान्तिमा होमिए । त्यही राजनीतिले उनलाई जेल पुर्यायो । .समानताको लागि १४ वर्ष जेल जीवन बिताएर संघर्ष र आदर्शका पर्याय बनी स्वतन्त्र भएका ओलीलाई अहिले भने धेरैले पक्षपाती नेताको रूपमा चिन्छन् ।
- महत्वपूर्ण नियुक्तिप्रक्रियामा गृह जिल्ला झापाका मान्छे नपारेको अभिलेख नै छैन ।
पार्टी विधी–विधानलाई लत्याएर आफ्नै मनमर्जीमा पार्टी र सरकारका काम सञ्चालन गरेको आरोप त उनलाई सहयात्रीहरूले नै लगाउँदै आएका छन् । त्यसैले उत्कर्ष रूपमा लिँदै गर्दा पछिल्लो समयमा पार्टी विवाद मिलाउन ६ सदस्यीय कार्यदल बन्यो । तर कार्यदलले प्रतिवेदन बुझाउनुअघि नै नियुक्तिमा मनोमानी गरेको भन्दै उनी विवादमा तानिए ।
त्यसो त उनले गरेको नियुक्तिमा पनपक्ष भएको भन्दै विवादित भएको यो पहिलो होइन । उनका धेरै नियुक्तिले यस्तै प्रश्न जन्माएका छन् । त्यसमध्ये पनि उनले हरेक पटकको नियुक्तिमा देखाउने झापामोहलाई धेरैले आलोचना गर्ने गरेका छन् । प्रधानमन्त्री ओली झापाको क्षेत्र नं ५ बाट निर्वाचित हुन् । यो क्षेत्र झापाको दमक,गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिका मिलेर बनेको छ ।
भनिन्छ, उनले हरेक महत्वपूर्ण नियुक्तिप्रक्रियामा गृह जिल्ला झापाका मान्छे नपारेको अभिलेख नै छैन । उनी शक्तिशाली पदमा रहेको अवधिमा भएका नियुक्तिको उदाहरण लिने हो भने त्यो देखिन्छ पनि । उनी अर्को कुरामा पनि निकै कटिबद्ध देखिन्छन्, त्यो हो गुटको संरक्षण । यस्ता नियुक्तिका केही उदाहरण यहाँ प्रस्तुत छः
प्रमुख स्वकीयमा आफन्त
ओलीका प्रमुख स्वकीय सचिव छन् राजेश ब्रजाचार्य । बज्राचार्य ओलीकी जेठी सासुको छोरा हुन । उनी लामो समयदेखि ओलीको प्रमुख स्वकीय सचिव हुन् । उनको राजनीतिक पृष्ठभूमिले होइन, ओलीको नातेदार भएर स्वकीय सचिव हुन पाएका हुन् ।
झापाकै भएर अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडा झापाका हुन् । योजना आयोगका उपाध्यक्ष भइसकेको खतिवडा राष्ट्र बैंकको गर्भनर पनि बने । उनको नियुक्ति पाउने यात्रामा झापाली हुनुले ठूलो भूमिका खेलेको निकटस्थहरूले सार्वजनिक रूपमै भनिरहेका हुन्छन् ।
पछिल्लो समयमा राजनीतिमा धेरै योगदान गरेका नेकपाका अन्य नेतालाई पछाडि पार्दै उनी राष्ट्रिय सभाको सांसद हुने अवसर पाए उनले । त्यतिमात्रै होइन, त्यसलाई आधार बनाएर अर्थमन्त्री बने । दुई बर्षे कार्यकाल पाएका खतिवडाको गत बर्ष फागुन १९ गते नै म्याद सकिएको हो ।
तर ओलीले आफू मृगौला प्रत्यारोपण गर्न गएकै दिन उनको मन्त्री पदको राजीनामा स्वीकृति गर्दै त्यसै दिन २० गतेको मिति राखेर ६ महिनाको लागि मन्त्री पद दिए । यही भदौ १९ गते उनको समय सकिँदै छ । उनलाई मन्त्रीमा नै निरन्तरता दिने हो भने मन्त्री परिषदबाट राष्ट्रपतिलाई पुनः मनोनित गर्न सिफारिस गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि समीकरणमा हल हुन नसक्ने समस्या नआए ओली सकारात्मक रहेको बुझिन्छ ।
महान्याधिवक्ता पनि झापाकै
अहीलेका महान्याधिवक्ता हुन् अग्निप्रसाद खरेल । उनी पनि ओलीको गृह जिल्ला झापाकै हुन् । उनी पनि नियुक्तिमा निकै अवसर पाउँछन् । २०६३ सालबाट नै उनले ओलीको झापामोहको फल खाइरहेका छन् । उनी पुनःस्थापित प्रतिनिधि सभाको सदस्य बने । २०६४ सालमा समानुपातिक कोटामा सभासद भए । २०७० सालमा पनि सांसद बने । ओलीको पहिलो कार्यकालमा कानूनमन्त्री बने ।
बागमती प्रदेश प्रमुख झापाली
वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं २०२८ सालबाट राजनीतिमा लागेका थिए । उनी ओलीसँग झापा आन्दोलनबाटै निकट हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाका मेयरमा पराजित उनलाई ओलीले ओलीले बागमती प्रदेश प्रमुख बनाइदिए ।
झापा माइती हुनुको फाइदा
शिवमाया तुम्वाहाम्फेको माइती झापा हो । उनले राजनीति पनि झापाबाट नै गरेकी थिइन् । तत्कालीन एमालेबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभाको सांसद बनेकी हुन् । उनी उपसभामुख बनिन् । सभामुख हुने उनको चाहना भैंसेपाटी गठनबन्धनले चकनाचुर बनाए पनि ओलीले उनलाई मन्त्री बनाए । उनी अहिले कानूनमन्त्री छिन् ।
झापाली भएपछि कांग्रेस पनि प्यारो
कुमार रेग्मी सर्वोच्च अदालतको न्यायाधीश बनेका छन् । यसमा ओलीको हात रहेको सार्वजनिक नै भइसकेको छ । उनी झापा गौरादहका स्थायी बासिन्दा हुन् । उनलाई ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कानूनमन्त्री अग्नि खरेलसहितको जोडबलमा न्यायपरिषदेले न्यायाधीश नियुक्त गरेको थियो । कांग्रेस पृष्ठभूमिका भए पनि झापा घर हुनुले आफूलाई कम्युनिष्ट आदर्श दावी गर्ने ओलीको मन पगाल्न सफल मानिन्छन् उनी ।
अख्तियारमा पनि झापा नै
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीन कुमार घिमिरे झापाका हुन् । उनी नियुक्त हुने बेलामै झापाको भएर नै अवसर पाएको आरोप लागेको थियो । गृह सचिवबाट अवकास पाएका उनी पहिले आयुक्तमा नियुक्त भएका थिए ।
विवाद बढेपछि वायुसेवाबाट राजीनामा
मदन खरेल झापाका स्थायी बासिन्दा हुन् । उनलाई ओलीले झापामोहकै परिणामस्वरूप नेपाल वायुसेवा निगमका अध्यक्षमा नियुक्त गरेको बताइन्छ । तर विवाद निकै चर्किएपछि उनले राजीनामा दिए ।
ओलीको माया पाउने अरू झापाली
भण्डारी प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी पनि झापा, दमकका हुन् । प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारको रुपमा नियुक्त भएका थिए देवेन्द्र दाहाल । उनी पनि झापा दमककै हुन् ।
प्रधानमन्त्रीको सचिवालयमा भएका होम थापा र दीपेन्द्र दाहाल पनि झापा दमककै हुन् । यो भन्दापहिले प्रेस संयोजक चेतन अधिकारी पनि झापाका झापाका नै थिए ।
प्रतिनिधि सभाका प्रेस संयोजक शेखर अधिकारी पनि झापाका नै हुन् । केही समयअघि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति हुने अवसर पाएका डा. धर्मकान्त बाँस्कोटा पनि झापा, गौरादहका हुने । उनी त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक थिए । उनी मेडिकल काउन्सिलको अध्यक्ष पनि बनेका थिए ।
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनाल पनि गौरादह झापाका हुन् । ओलीको पहिलो कार्यकालमा उनले परराष्ट्रविज्ञको नियुक्ति पाएका थिए ।
झापाको दमक, गौरादह र कमल गाउँपालिकामा बन्दै गरेको क्लिन इन्डस्ट्रिज पार्कको अध्यक्ष बनाइएका गोविन्द थापा पनि झापाका दमककै हुन् ।
यो पनि पढ्नुहोस्
- काण्ड पचाउने ‘ईश्वर’
-प्रचण्डको आफन्त मोह !