काठमाडौं- केही समयअघि बलिउड कलाकार सुशान्त सिंहको आत्महत्यापछि सिनेमा उद्योगमा नातावादको निकै बहस भयो । त्यसको तरंग नेपालसम्म आइपुग्यो । अहिले नातावादको तरंगले नेपाली राजनीति तरंगित भएको छ ।
वक्तव्य निकालेरै खण्डन गरिसकेको भए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दवावमा सम्धी उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्ति गरिएको चर्चा मत्थर भएको छैन । यससँगै नेपाली राजनीतिमा संस्थागत बनिरहेको नातावाद र कृपावादको चर्चा बौरिएको छ ।
यसै मेसोमा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातावादबारे पनि सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ ।
उनले जनयुद्धलाई धनयुद्धमा परिणत गरेको भन्दै ‘नो नेक्स्ट क्वेश्चन’ फेसबुक पेजमा उनको नातावादको सूचीको पोस्टर नै सार्वजनिक गरिएको छ । यसै सन्दर्भमा उनका सार्वजनिक भइसकेका नातावादसँग सम्बन्धित तथ्यहरू यहाँ चर्चा गरिएको छ ।
तत्कालीन माओवादी जनयुद्धको सर्वोच्च कमान्डर तथा अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै बेला असमानता, नातावाद र कृपावादकाे सबैभन्दा बढी विरोध गर्थे । तरऽ जब तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी र उनकाे पार्टीका नेताहरुको बोली र व्यवहार बिलकुल फरक हुँदै गयो ।
उनीहरु नै नातावादको पक्षपोषक बन्न पुगे । आज जनयुद्ध लडेका गरिबका छोराछोरीहरु औषधि उपचार नपाएर निरीह अवस्थामा छन् । तर नेताका छोराछोरीहरु भने पद र अवसरको भरपुर उपभोग गरिरहेका छन् ।
प्रचण्ड त दुईपटक प्रधानमन्त्री बने । पार्टीको स्थायी सत्तामा त उनी तीन दशक भन्दा अघिदेखि नै छन् । यहाँ प्रचण्डको नातावाद र कृपावादका केही उदाहरण प्रस्तुत छन् :
छोरी गंगा दाहाल
कान्छी छोरी गंगा दाहाल प्रचण्डकाे स्वकीय सचिव छिन् । शान्ति प्रक्रियामा आएदेखि छोरा प्रकाश दाहाललाई स्वकीय सचिव बनाएका थिए । प्रकाशको असामयिक निधनपछि त्यो काम छोरी गंगा दाहालले गर्दै आएकी छिन् । राजनीतिबाट टाढा रहेकी गंगा अहिले पार्टी राजनीतिदेखि सत्ता राजनीतिको केन्द्रमा छिन् । यो सबै राजनीति क्षमताको कारणभन्दा पनि प्रचण्डकी छोरी भएर सचिव हुन पाएकी हुन् भन्दा फरक पर्दैन ।
छोरी रेणु दाहाल
प्रचण्डकी माइली छोरी हुन् रेणु दाहाल । रेणुदाहाल भूमिगत समयमा महिला संगठनमा आबद्ध थिइन् । उनी जस्तै महिला आन्दोलनमा मात्र होइन, जनयुद्धको प्रमुख शक्ति जनमुक्ति सेनामा पनि धेरै महिला थिए । तर ती जनयुद्ध लडेकी महिलाहरु को कहाँ छन्, त्यसको कुनै लेखाजोखा छैन ।
तर प्रचण्ड पुत्री रेणु दाहाल भने अहिले चितवनको भरतपुर महानगरपालिकाको मेयर भएकी छिन् । उनी मेयर हुनुमा उनको लोकप्रियताभन्दा पनि प्रचण्डी छोरी भएकाले हो भन्ने टिप्पणी पहिलेदेखि नै आइरहेकै हो । तत्कालीन माओवादीका एक नेता भन्छन्, ‘असमानता र नातावादका लागि लड्यौं, अहिले सबैभन्दा बढी जनयुद्धको नेतृत्वकर्ताबाट नै असमानता र नातावाद लादिएको छ । कसले बोल्छ अब उहाँहरुका विरुद्ध ?’
माओवादी जनयुद्धमा उनीभन्दा कैयौं गुणा योगदान गरेका नेता–कार्यकर्ताहरु चितवनमा थिए । तरऽ प्रचण्डले गुल्मी स्थायी घर भएकी छोरीलाई चितवन ल्याएर मेयर बनाए । त्यो पनि कांग्रेससँग चुनावी तालमेल गरेर । त्यसमा पनि चुनावी प्रक्रियामा सबैभन्दा विवादित भरतपुर महानगर बन्न पुग्यो ।
बुहारी बिना मगर
प्रचण्डकी बुहारी हुन् बिना मगर । जो खानेपानी मन्त्री छिन् । अरु धेरै नेताहरुको मन्त्री पद गइसक्यो । तर उनको मन्त्री पद निरन्तर जारी छ । प्रचण्डकी बुहारी भएकाले उनकाे पद जाेगिएकाे हो भन्दा फरक पर्दैैन । होइन भने उनीभन्दा योगदान गरेका नेताहरु मन्त्री पदबाट बाहिरिनुपर्दा बिना मगर मन्त्री भइराख्नुलाई कसरी बुझ्ने ?
उनी कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । उनले दोस्रो संविधानसभामा पनि कञ्चनपुर क्षेत्र नं १ बाट नै टिकट पाएर हारेकी थिइन् ।
उनको राजनीतिमा योगदान नभएको भने होइन । जनयुद्धकालीन समयमा र शान्ति प्रक्रियापछिको उनको सक्रियता विशेष छ । उनी भैरवनाथ गणले लामो समयसम्म बेपत्ता बनाएकामध्ये एक हुन् । तर उनीभन्दा पनि धेरै सिनियर नेताहरुलाई पाखा लगाएर उनी मन्त्री भएकी हुन् । उनीभन्दा धेरै योगदान गरेका सिनियर नेताहरु पार्टीको केन्द्रीय सदस्य पनि हुन पाएका छैनन् तर उनी नेकपाको केन्द्रीय सदस्य पनि हुन् ।
भाइ नारायण दाहाल
प्रचण्डका भाइ नारायण दाहाल पार्टीको केन्द्रीय सदस्य छन् । उनको पनि जनयुद्धमा उल्लेख्य योगदान छ । योगदान भएका सबैले पद पाएका छैनन् । अवसर पाएका छैनन् । तर दाहाल परिवारका कोही पनि अवसरबाट टाढा हुन परेको छैन । नारायण दाहाल बाग्मती प्रदेश कमिटीका अध्यक्ष छन् । उनीभन्दा कैयौं योगदान गरेका व्यक्ति हुँदा हुँदै प्रचण्डले भाइलाई साे पद दिलाएका हुन् । यो पनि नातावादको भद्दा उदाहरण हो ।
जनयुद्धमा हजारौंको होइन लाखौंको योगदान छ । कैयौंका त भए जतिका घरपरिवार र सन्तान गुमेका छन् । तर नेताहरु कमै छन् जनयुद्धमा घरपरिवार र सन्तान गुमाउने । तर सबैभन्दा फाइदा यिनै नेताहरुले उठाएका छन् ।
ज्वाईहरु
प्रचण्डका जेठा ज्वाई सागर केसी गत वर्ष असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव थिए । अर्का ज्वाई हुन् जीवन आचार्य । मोरङका आचार्यले पनि राजनीतिमा छोटै समयमा धेरै फाइदा पाएका छन् । आचार्य गंगा दाहालका श्रीमान् हुन् ।
आचार्यलाई प्रचण्डले मोरङ क्षेत्र नं. ६ को ‘क’बाट प्रदेश सभाको टिकट दिएका थिए । तर उनले चुनाव हारे । चुनाव हारेपछि पनि उनको राजनीतिक लाभको यात्रा त्यही रोकिएन । प्रचण्डले उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव बनाए । तर पछिल्लो समयमा प्रदेशमा नै काम भएपछि उपराष्ट्रपति कार्यलयबाट बाहिरिएका छन् ।
प्रचण्डका माहिला ज्वाई अर्थात् रेणु दाहालका श्रीमान् हुन् अर्जुन पाठक । उनी पनि दाहालको विशेष सल्लाहकारको पदमा आसीन छन् । पाठक भारतमा बस्दा नेपाली विद्यार्थीमाझ राजनीति गरेका व्यक्ति हुन् । गुल्मीका स्थायी बासिन्दा उनको घर भारतको पन्जावमा पनि छ ।
पाठकका बुबा टिबी पाठकले भारतमा तत्कालीन माओवादीको भ्रातृसंगठनको सक्रिय राजनीतिमा थिए । पाठकका छोरी ज्वाई हुन् चुडा खड्का । गोरखा स्थायी घर भएका खड्का प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् । उनी जनयुद्धका घाइते पनि हुन् । उनी सांसद हुनुभन्दा पहिले प्रचण्डका स्वकीय सचिव थिए । यसभन्दा पहिले भतिज समीर दाहाल पनि स्वकीय सचिव थिए ।
सगोत्री नातावाद
अस्ट्रेलियाका लागि राजदूत बनेका महेश दाहाल पनि चितवनका र दाहाल भएर नै राजदूत हुन पाएको चर्चा चलेको थियो । उनी नेपाली कांग्रेस छोडेर नेकपाका प्रवेश गरेका थिए । अरु पार्टी छोडेर नेकपामा प्रवेश गर्ने धेरै भए पनि राजदूत हुने अवसर भने महेश दाहालले नै पाए ।
यो पनि पढ्नुहोस्
काण्ड पचाउने ‘ईश्वर’, पानी ट्यांकी प्रकरणदेखि सम्धी प्रकरणसम्म