काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी भित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले कार्यदललाई शुभकामनासहित अनुमोदन गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।
‘बैठकले कार्यदललाई अनुमोदन गरेको छ,’ बैठकबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘कार्यदललाई कार्यादेशसमेत दिएको छ, सोमबारको बैठकमा यो कार्यदललाई पार्टी र राष्ट्रलाई सफल बनाउन अग्रसर होस् भनेर पनि दुवै अध्यक्षले शुभकामना समेत दिएका छन् ।’
३० साउनमा नेकपाको विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल सम्मिलित ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउँदै सचिवालयको बैठक बोलाउन माग गरेका थिए ।
‘हाम्रो पार्टीमा देखा परेको समस्या र त्यसको निकास दिने गरि भइरहेको छलफललाई व्यववस्थित ढंगले अगाडि बढाएर टुंगोमा पुर्याउन अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नुभयो, त्यसलाई बैठकले सकरात्मक रुपमा लिदै बैठकले स्वागत गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले बताए ।
कार्यदलले चाँडै सुझावसहति प्रतिवेदन बुझाएपछि पुनः सचिवालयमा त्यसबारे छलफल हुने नेता श्रेष्ठको भनाइ छ ।