काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले कान्तिपुरका पत्रकार बलराम बानियाँको मृत्युप्रति श्रद्धान्जली व्यक्त गर्दै उनको असमान्य निधनमा छानविनको माग गरेका छन् ।
थापाले बानियाँको मृत्यु सामान्य नभएको भन्दै यसका लागि नेपाल प्रहरीसमक्ष छानविनको माग गरेका हुन् ।
उनले बानियाँको भेटलाई सम्झिँदै ट्वीटरमा लेखेका छन्, ‘बलराम बानियाँ दाइको निधनको खबरले स्तब्ध भएको छु । दाइसँगका कयौँ भेट मेरो मानसपटलमा घुमिरहेका छन् । दाइको यो असामान्य मृत्युको सत्य तथ्य छानविन गर्न नेपाल प्रहरीसँग माग गर्दछु । हार्दिक श्रद्धाञ्जली ।’
पत्रकार बानियाँ कान्तिपुर पब्लिकेशनमा सहायक सम्पादकको रुपमा कार्यरत थिए । दुई दिनदेखि सम्पर्कविहिन भएका बानियाँको शव आज मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको थियो ।
उनी अन्तिमपटक बल्खु खोला किनारमा देखिएका थिए । त्यस यता भने उनका परिवार तथा कार्यालयले उनी हराएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी दिएका थिए ।