बुटवल– बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।
मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका १० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएको थियो । उनको उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिए । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको खनालके भनाई छ ।
कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका२ का ४२ वर्षीय पुरुषको भने पिसीआर परीक्षण पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले बताए ।
मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको डा खनालले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उनले बताए ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशङ्कर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताए । सङ्क्रमण पुष्टि भई नसकेका मृतकको पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने भएको छ ।