नेपालगन्ज– बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गतेसम्म राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।
प्रजिअ कुरुम्वाङ्गको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहनबाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिँड्डुलमा समेत रोक लगाइएको उनले जानकारी दिए ।
यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।