काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् ।
होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । अहिल्यै विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो ।
तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरले उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताए ।
होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले होटलमा सात जना कर्मचारी कार्यरत छन, सात दिन भयो आजसम्म ग्राहक नआएको दुखेसो गर्छन् ।
आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताउनुभयो । होटलसँगै रेष्टुराँ पनि खुलेका छन तर ग्राहक छैनन । सौराहामा १ सयको हाराहारी रेष्टुराँ छन् । रासस