एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दौडधुप खेल सकिनुअघि नै सकिएको छ । लिभरपुलले ३० वर्षपछि ७ खेलअघि नै लिगको उपाधि पक्का गरेसँगै उपाधि भिडन्त समाप्त भएको हो ।
तर लिगका केही खेलहरु बाँकी रहेका कारण तेस्रो र चौथो स्थानका लागि भने कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।
घरेलु लिगको उत्कृष्ट ४ मा पर्न सफल क्लब युइएफए च्याम्यिपन्स लिग खेल्न पाउने भएकाले इपिएलमा दौडधुप शुरु भएको हो । जसमा चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच कडा भिडन्त हुनेछ ।
लिगमा ३६ खेलसँगै चेल्सी ६३ अंकको साथ हाल तेस्रो स्थानमा छ । त्यस्तै समान ३५ खेल खेलेको लेस्टर तथा युनाइटेड समान ५९ अंकको साथ चौथो र पाँचौ स्थानमा छन् । यी तीनै टोलीको सबै खेलको नजिता एकअर्काको लागि निकै महत्व राख्छन् ।
अब चेल्सीले २ खेल खेल्न बाँकी छ,जुन उसको लागि चुनौतिपूर्ण हुुने अनुमान गरिएको छ । त्यस्तै ३ खेल खेल्न बाँकी लेस्टर सिटी र युनाइटेडको प्रतिस्पर्धा पनि रोचक हुनेछ । उपाधि भिडन्त सकिएपनि यी तीन क्लबले इपीएलको रौनकतामा कमी हुन दिएका छैनन् ।
युरोपीएन क्लब म्यानचेस्टर सिटीमाथि लागेको २ वर्षे प्रतिबन्ध हटेसँगै सिटीले पनि लिग च्याम्पियन लिभरपुलको साथमा अर्को सिजनको च्याम्पियन्स लिगमा सहभागिता सुनिश्चित गरेको छ ।