प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औं भानुजयन्तीका अवसरमा दिइएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुर्याउने नियत नरहेको प्रस्ट पारिएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भानुजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र व्यक्तिको संवेदना र भावनामा ठेस पुर्याउने नियत नरहेको जनाएको छ । ‘अयोध्याको महत्ता र त्यसको सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति लक्षित थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।
परम्परागत रुपमा विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको र भारतको अयोध्याबाट नेपालको जनकपुरमा हरेक वर्ष जन्ती आउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रु बस सेवा प्रारम्भ गरेको स्मरण गरिएको छ ।
‘यी वास्तविकताले लामो समयदेखिको नेपाल र भारतका साथै दुवै देशका जनताको सम्बन्धलाई पुष्टि गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
