नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित अभिव्यक्तिबारे टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान् रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्वत्र आलोचना भएको हो ।
प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीताको विवाह भारत अयोध्याका रामसँग नभई वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग भएको उल्लेख गरेपछि सामाजिक सञ्जाहरूमा नेकपाका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताले आलोचना गरेका हुन् ।
नेता डा. रावलले ट्वीटरमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे वहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकारबिच छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ ! ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु धर्मलाई राजनीतिको आधार बनाउने गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषयमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने बताए ।

सत्तारुढदल नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको अभिव्यत्तिको आलोचना गरेका छन् । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताए ।

प्रधानमन्त्री ओलीका पूर्वप्रेस सल्लाहकार डा. कुन्दन अर्यालले उनको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।

यस्तै, भारतीय सत्तारूढ दल भाजपाले प्रधानमन्त्री ओलीलाई धार्मिक आस्थामाथि खेलबाड नगर्न चेतावनी दिएको छ । विगतदेखि नै प्रधानमन्त्री ओली विरुद्ध चर्को विरोध गरिरहेका भारतीय मिडियाहरु अहिले नेपालमाथि नै खनिएका छन् । यसले दुई देशको अन्तरसम्बन्धमा असर पर्ने विज्ञहरुले तर्क गरेका छन् ।