भानुजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालकै भएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा ‘राम’को जन्मस्थानबारे तर्क वितर्क सुरु भएको छ ।
प्रम ओलीको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा अनेक ‘ट्रोल’ र ‘अभिव्यक्ति’ पोस्ट गर्ने क्रम बढेको छ । यसै क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै प्रम ओलीलाई यसरी छाडा छोड्न नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको फेरो समाउँदै लेख कार्की फेसबुकमा लेखेका छन्, ‘खासमा श्रीकृष्ण पनि नेपाली हुन् । उनको जन्म मथुराको कारागारमा भएको थियो । मथुरा भनेको मिथिला क्षेत्र, जनकपुरदेखि यसो उतापट्टि हो । श्रीकृष्णलाई मथुरामा उनका मामा कंशले हत्या गर्ने कुरा वासुदेव र देवकीलाई पहिला थाहा थियो । तसर्थ जन्मनासाथ वासुदेवले श्रीकृष्णलाई जोगाउनका निमित्त गोकुल गाउँमा लगेर नन्द र एशोदाका साथमा छोडेर आएका थिए । त्यो गोकुल गाउँ नै अहिले अपभ्रंश भएर गोकुलम भएको हो । उक्त गोकुलम अहिले मोरङ जिल्लामा पर्छ । श्रीकृष्णकै सम्झनामा अहिले गोकुलम आकर्षक पर्यटनस्थल बनाइएको छ ।’

त्यस्तै, गायक भगवान् भण्डारीले लेखेका छन्, ‘भारतले लुम्बिनी भारतमा पर्छ, बुद्ध भारतमा जन्मेका हुन् भन्न हुने । हाम्रा ओलीबाले अयोध्या नेपालमा पर्छ र राम नेपालमा जन्मेका हुन् भन्न किन नहुने ?’
पत्रकार डिल्ली बसेलले प्रम ओलीको अभिव्यक्तिमाथि व्यंग्य गर्दै लेखेका छन्, ‘मेरो मावली गाउँको नाम उरामु हो । भगवान् राम वनवासका क्रममा पैँयुकोटमुनि बेउलीवासमा वास बसेका रहेछन् तर राम भोलिपल्ट बिहान हराएछन् । खोज्दै जाँदा पारिपट्टि देखिएछन् र ‘ऊ राम’ भनेर देखाएछन् । त्यसपछि त्यो ठाउँको नाम उराम बन्या रे । त्यसैले मेरो दाबी छ रामको जन्म हाम्रो पर्वतमा भाको हो । जय श्रीराम ।’

पत्रकार राजन कुइँकेलले लेखेका छन्, ‘राम र अयोध्या मात्रै नेपालका हुन् र भन्या ? मुस्ताङमा पुस्तैनी भएका शेरचन, गौचन, भट्टचन जस्तै अमिताभ बच्चनले छोरा अभिषेकको खोटाङकी राईकी छोरी ऐश्वर्य राईसँग नाता जोडेको कति चाँडै बिर्सेको हो ? शाहरूख, सलमान, आमीर सबै नेपालका खाँणहरू त हुन् नि । फेरि बालकृष्ण खाँणहरूको पुस्ताबाट सिनेमा खेल्न भारततिर लागेका रैछन् । उदितनारायण जस्तै ।’

सामाजिक सञ्जालमा प्रम ओलीलाई बोलीमा लगाम लगाउन र कूटनीतिबारे सोचविचार गरेर बोल्न सुझाइएको छ । उनी यसअघि कोरानाबाट बच्न बेसार पानी खानुपर्ने अभिव्यक्ति दिएका कारणसमेत विवादमा मुछिएका थिए । यतिबेला उनको अभिव्यक्तिलाई विदेशी सञ्चारमाध्यमले पनि निकै चासोका साथ प्रस्तुत गरेका छन् ।