स्पेनिस लिग लालिगामा गत राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । खेलमा रियलले ग्रानाडालाई २–१ को गोल अन्तरले पराजित गरेको हो । ग्रानाडाको घरेलु मैदान लस कारमेन स्टेडियमा भएको खेलमा रियलका लागि खेलको १० मिनेटमा फरल्याण्ड मेण्डी र १६ मिनेटमा करिम बेन्जेमाले १÷१ गोल गरेका थिए ।
पहिलो हाफ अगाडी नै २ गोलले उछिनेको रियललाई ५० मिनेटमा ग्रानाडाका लागि डार्विन माचिसले १ गोल फर्काएका थिए । यो जितसँगै रियलको अंक तालिकामा ३६ खेलमा ८३ अंक भएको छ । यो सिजनमा राम्रो खेल खेल्दै आएको रियललाई उपाधी चुम्नको लागि २ अंक आवश्यक पर्नेछ ।
त्यसैगरी ७९ अंकका साथ बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनालाई बाँकी खेल राम्रो खेले पनि सम्भवत यो सिजनमा दोस्रो स्थानमा नै चित्त बुझाउनु पर्ने देखिन्छ । ग्रानाडा ५० अंकका साथ लिगको १० औँ स्थानमा रहेको छ ।