एजेन्सी– इंग्ल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले टेस्ट सिरिजअन्तर्गतकाे पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ। कोरोना माहामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराएको हो।
साउथ ह्याम्टनमा भएको पाँचौं तथा अन्तिम दिनको खेलमा २०० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसको लागि जर्माइन ब्याकहुडले उत्कृष्ट प्रदर्शन गर्दै १ सय ५४ बलमा ९५ रन बनाए । त्यस्तै रोस्टोन चेसले ३७ रन बनाए भने शेन डोरिचले २० रनको योगदान दिए ।
आफ्नो पहिलो इनिङमा इंग्ल्यान्डले ६७..३ ओभरमा २ सय ४ रन बनाएको थियो भने वेस्ट इन्डिजले १ सय २ ओभरमा अल आउट हुँदै ३ सय १८ रन बनाएको थियो। यससँगै वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय १४ रनको अग्रता बनाएको थियो।
पहिलो इनिङ खराब प्रदर्शन गरेको इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ११ ओभर २ बलमा ३ सय १३ रनमा समेटियो । त्यससँगै वेस्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो।
इंग्ल्यान्ड र वेस्ट इन्डिजबिचको टेष्ट सिरीजअन्तर्गतको दोस्रो खेल बिहीबार हुनेछ।