पिँडालुलाई अङग्रेजीमा Taro वा Eddoe भनिन्छ भने हिन्दी भाषामा Arvi भनेर पनि चिनिन्छ। पिँडालु नरम पात हुने, जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलु जस्तो कन्द वा गानु फल्ने एक प्रकारको आयुर्वेदिक वनस्पति हो। एक बर्षे तरकारि बाली पिँडालु ऐरेकेसी परिवारमा पर्दछ र यसको Genus चाँहि Colocasia हो। हामिले खाने पिँडालु Esculenta जातको हो।
विश्वभर जैविक वनस्पती भनेर प्रचार गरिएको नेपाली पिँडालु गर्मी हावापानी र तुसाराे नपर्ने मध्य पहाडि क्षेत्रमा राम्रो उत्पादन गर्न सकिन्छ। यसको खेतीका लागि औसत दैनिक २३ देखि २८ डीग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। प्रशस्त मात्रामा पानीको निकास हने र बाली अबधिभित्र १००० मि.मि. वर्षा हुने ठाँउमा प्राङ्गारीक पदार्थको प्रयोग गर्दा गानोको उत्पादन राम्रो हुन्छ। हल्का अनि दोमट माटोमा यसको गाना ठुलो हुन्छ। माटोको पिएच ५.५ देखि ७ पिँडालु खेतिका लागि उपयुक्त हुन्छ।
हाल नेपालमा हात्ती पाउ,खरि पिँडालु आदि स्थानिय जातहरु लगाउने गरेको पाइन्छ। यसको खेती गर्दा नेपालको पहाडि क्षेत्रमा चैत/वैशाख र तराई क्षेत्रमा वैशाख/जेष्ठमा फराकिलो जमिनमा लाइन कोरि वा हलोको सियोमा पनि रोप्न सकिन्छ। दोमट माटोमा खाल्डा बनाएर खाल्डोमा रोप्दा झनै राम्रो उत्पादन हुन् । यसको खेति गर्न जग्गा २ वा ३ पटक २० देखि २५ से.मि को गहिराईमा जोतेर माटो खुकुलो पार्नु पर्दछ। मुख्य गानो भन्दा सेलालाई र करिब ३० ग्रामको गानोहरुलाई बिउको रुपमा प्रयोग गर्नु राम्रो मानिन्छ। बिउ राख्दा १ हेक्टर जमिनमा लगभग १ टन जति सेला आवश्यक हुन्छ।
यसको बिउ रोप्दा एक लाइनदेखि अर्को लाइनको दुरि करिब ७० से.मि र बोटको दुरि २५ देखि ३० से.मि हुनु पर्दछ। १ हेक्टर जमिनका लागि १९/२० टन कम्पोष्ट हाल्नुपर्दछ। यसको बालिमा माटो खुकुलो पार्न, उकेरा दिन र झारपात हटाउन गोडमेल गर्नु पर्दछ। पिँडालु रोपेको ६५ देखि ७० दिनपछि किनारबाट आएको झारपातहरु हटाउँदा गानो ठुलो हुन्छ र बालिमा खासै रोग किराको समस्या सृजना हुदैन तर ओसिलो जग्गामा पातको ढडुवा रोग लागेको पाइन्छ।
यो रोग लागेमा डाइथेन एम ४५ विषादि ३ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्नु पर्दछ र रसायनिक मलखादहरु ८०:५०:१०० केजी नाइट्रोजन,फोस्फोरस र पोटास प्रति हेक्टर सिफारिस गरिएको छ । पिँडालु रोपेको ७/८ महिना पछि उखेल्नको लागि तयार हुन्छ । साधारणतया १ हेक्टरमा १४/१५ टन गानो उत्पादन हुन्छ ।
पिँडालुमा पाइने विभिन्न पौष्टिक तत्व र फाइदाहरु:-
* पिँडालुको कलिलो पात तथा हरियो डाँठलाई गाभाको रुपमा खान प्रयोग गरिन्छ।
* यसको सुकेको पात कर्कलाको रुपमा तरकारी पकाएर खान प्रयोग गरिन्छ।
* गानोलाई उसिनेर र पोलेर पनि खान सकिन्छ।
* पिँडालुलाइ औषधिको रुपमा पनि खाने प्रचलन छ।
यसको गानोमा प्रसस्त मात्रामा स्टार्च पाइन्छ जसमा १८ देखि २४ प्रतिशत Amylase हुन्छ। यसका साथै पिँडालुमा फाेस्फाेरस, क्याल्सियम, प्राेटिन, मिनरल्स, आइरन, फ्याट, पाेटासियम आदि पाइन्छ। परम्परादेखि नै खेति हुँदै आएको यो वनस्पतिको फल पछिल्ला दिनहरुमा स्वदेशी बजारमा तिरस्कृत अनि लोप हुदै गएतापनि कतिपय अन्तरराष्ट्रिय बजारमा भने झन फराकिलो र लोकप्रिय हुँदै गइरहेको छ।
(लेखकः रामपुर कृषि क्याम्पसमा बिएससी एग्रीकल्चर अध्ययन गरीरहेका छन्)