यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ। अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ। अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी छ।
उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन्। सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आएका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खाने र बिरामीको रेखदेख गर्दै आएका छन्। “न उपचार नै पाइएको छ। न त बस्न र खानका लागि कतै ठाउँ नै छ”, उनको गुनासो छ।
“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदासम्म अस्पतालले भर्ना गर्न मानेको छैन”, यादवलले दुखेसो पोखे। अस्पताल आएको केही दिन अस्पतालभित्रै रहेको चमेनागृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानका लागि सहज वातावरण नबनेको उनको भनाइ छ। “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिइएको छ, अरुलाई बाहिर नै राखिएको छ”, उनले थपे, “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिइएको छ अन्य खुला आकाशमुनि बस्न बाध्य छाैँ।”
यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आएका रमित कपाडले उपचारका लागि समय लाग्ने भएकाले गाँसबासको व्यवस्था गरिदिन आग्रह गरे। चौरमा बसेर खाना खाँदै गरेका उनले बिरामीको भर्ना गर्न समेत कठिन भएको बताए। “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उनले भने।
पानी पर्दा कहाँ बस्ने कहाँ के खाने भन्ने झन् ठूलो समस्या हुने उनको भनाइ छ। पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताए। अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उनको गुनासो छ।
उनले भने, “उपचारका लागि समय लाग्ने भए पनि बस्न र खानका लागि आकाशको छानो बनाउनुपरेको छ।” रातको समय पनि खुलाचौरमै बिरामी लिएर बस्नुपरेकाे उनले दुखेसो गरे। कञ्चनपुरबाट बिरामी लिएर आउनुभएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताए। शुरुआतको समयमा अस्पतालको पेटिमा सुत्नसम्म पाइएको भए पनि अहिले त्यहाँ पनि जान दिँदैनन् उनले भने।
चौधरीले भने, “बिरामीलाई उपचारका लागि आफूँहरु आएको भए पनि न उपचार समयमा पाइएको छ न खान बस्न नै।” लहानबाट बिरामी लिएर आउनुभएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताए। उनले भने, “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन। अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ।”
बिरामीको उपचार प्रक्रिया शुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उनको गुनासो छ। अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अवस्था दयानीय बन्दै गएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताउछन्। अस्पतालमा आज १ सय ३३ बिरामी भर्ना भएको र १०० हाराहारी बाहिर रहेको उनले बताए। ५० बिरामी राख्न मिल्ने कुरुवा घर भरिएको र बाहिर होटल, रेष्टुरेन्ट बन्द भएपछि बिरामी र कुरुवाका आफन्त बाहिर खान र बस्न बाध्य भएको उहाँले बताए।
दैनिक अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरुवाको अवस्था दयानीय देखिएको बताए। आफूले अस्पतालभित्र रहेका खाली भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताए।
७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी बिरामीसँग एक जना आफन्त मात्र पठाउन अनुरोधसमेत गरेको भट्टराईले जानकारी दिए। सामान्यतया तीन साताको फरकमा क्यान्सरका बिरामीलाई केमो दिने गरिन्छ। टाढाबाट आएका बिरामी जान आउन कठिन भएकाले त्यही बाहिर बसेर कुर्ने गरेको पाइएको छ। यसैगरी केही विभागमा बहिरङ्ग सेवा नियमित नहुँदा र बिरामीको परीक्षणका नतिजा आउन ढिलाइ गर्दा पनि कुर्ने बिरामीको सङ्ख्या थपिएको हो ।
विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ ।