एजेन्सी- भारतमा काेराेना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेकाे छ। भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लाे केहि दिन देखि दैनिक पाँच हजार भन्दा बढीका दरले कोरोना संक्रमित थपिदै आएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ६ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३२ जना मृत्यु भएका छन्। यसैगरि बुधबार पनि ५ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए भने १ सय ४० जनाको मृत्यु भएको थियाे।
हालसम्म भारतमा एक लाख १२ हजार ३ सय ५९ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। काेराेना संक्रमणबाट आजसम्म भारतभरि ३ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ भने ४५ हजार ३ सय जना उपचारपछि निको भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतको महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएकाे छ। त्यहाँ ३९ हजार २ सय ९७ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै यहाँ २ हजार २ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। महाराष्ट्रमा अहिलेसम्म १ हजार ३ सय ९० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।
त्यसैगरी गुजरातमा हालसम्म संक्रमितकाे संख्या १२ हजार ५ सय ३९ जना पुगेकाे छ भने त्यहाँ मृत्यु हुनेको संख्या ७ सय ४९ पुगेको छ।पछिल्लो २४ घण्टामा गुजरातमा ३ सय ९८ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, तमिलनाडुमा अहिलेसम्म १३ हजार १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ। जसमध्ये ८७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा यहाँ ७ सय ४३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
त्यस्तै, नयाँ दिल्लीमा अहिलेसम्म ११ हजार भन्दा बढि संक्रमित पुगेका छन् भने ५ हजार भन्दा बढी निको भएका छन्। यहाँ मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ। त्यसैगरी भारतकाे राजस्थानमा हालसम्म संक्रमितकाे संख्या ६ हजार पार गरिसकेकाे छ। जसमध्ये १ सय ४७ जनाकाे मृत्यु भइसकेको छ। त्यस्तै मध्य प्रदेशमा अहिलेसम्म ५ हजार ७ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २ सय ६७ जनाको मृत्यु भएको छ।
भारतको पश्चिम बंगालमा कुल संक्रमितकाे संख्या ३ हजार १ सय ३ रहेकाे छ भने मृत्यु हुनेको संख्या २ सय ५३ पुगेको छ। उत्तर प्रदेशमा पनि संक्रमित संख्या ५ हजार १ सय ७५ पुगेको छ। २ सय ४९ जना पछिल्लो २४ घण्टामा मात्रै थपिएका छन् भने हालसम्म ३ हजार ६६ जना निकाे भएका छन्। उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १ सय २७ जनाको मृत्यु भएको छ।