एजेन्सी– कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिएका छन्।
ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ।
नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता
नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्। लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ। बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ।
प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ। हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नपर्ने भएका कारणले सूचना जारी गरिएको बताएका छन्। रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए। रासस