काठमाडाैं - राष्ट्रिय सभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ।राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन।
बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ‘सातै प्रदेशमा सम्पन्न अन्तरक्रिया/स्थलगत अध्ययन कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरे।
त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री डा. तुम्बाहाङ्फेले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ पेश गरिन्।
यसैबीच बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिका सम्बन्धमा प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।