काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहानै अस्पताल पुगेका छन्। मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री शिक्षण अस्पताल पुगेका हुन्।
उनका प्रेस सल्लाहकार सूर्य थापाकोअनुसार केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने छन्। प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
नौ दिन अस्पतालमा बसेपछि शुक्रबार प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएका थिए। प्रधानमन्त्रीलाई भेटघाट, छलफल तथा बैठकहरु केही दिन कमै गर्न चिकित्सकले सुझाव दिएका छन्।
ओलीले अस्पतालबाट फर्किएपछि शनिबार नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र आफ्ना सल्लाहकारसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओली आइतबार साँझ कोरोनाविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन्।