एजेन्सी– दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मन्डेलाका भतिजालाई बन्चरो लिएर दरबार छिरको आरोपमा गिरफ्तार गरिएको छ। राजा बुयेलेखाया दालिंदयेबो गत वर्ष डिसेम्बरमा प्यारोलमा जेलबाट बाहिर आएका थिए। शुक्रबार बिहान उनी बन्चरो लिएर थुम्बु रोयल प्यालेसमा पसे।

प्रत्यक्षदर्शीका अनुसार उनी आफ्ना छोराको खोजीमा थिए, जसलाई उनी जेलमा रहेका बेला कार्यवाहक राजा घोषित गरिएको थियो। उनका छोरा झ्यालबाट हामफालेर भाग्न सफल भए पनि उनकी पत्नी भने घाइते भएकी शाही प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। अपहरण, उत्पीडन र आगजनीको घटनामा दोषी पाइएपछि राजा बुयेलेखायालाई १२ वर्षको जेल सजाय सुनाइएको थियो। तर, राष्ट्रपतिले गत वर्ष बुयेलेखायासहित केही कैदीलाई प्यारोल दिने फैसला गरेका थिए ।
राष्ट्रपतिको यो निर्णयसँगै चार वर्ष जेल बसेका बुयेलेखाया बाहिर आएका थिए। सन् १९९४ मा गोरा–अल्पसंख्यक शासनको अन्त्य भएपछि कुनै अपराधमा दोषी ठहर भई जेल जाने उनी पहिलो दक्षिण अफ्रिकी शासक थिए ।
राजपरिवारमा तनाव
५६ वर्षीय बुयेलेखाया थेम्बू समुदायका हुन्। दक्षिण अफ्रिकाका पहिलो ‘काला राष्ट्रपति’ नेल्सन मन्डेला पनि यही समुदायका थिए। अफ्रिकामा सात आधिकारिक रूपमा घोषित शासक छन् जसले अलग–अलग जाति समूह र समुदायको अगुवाई गर्छन्। राजा बुयेलेखाया जेलबाट बाहिर आएदेखि नै थेम्बु राजपरिवारमा तनाव बढेको थियो। उनले आफ्ना छोरा एवम् कार्यवाहक राजा अजेनाथी जेनेलिज्वे दालिंदयेबोसँग भेट गर्नसमेत अस्वीकार गरेका थिए ।
दक्षिण अफ्रिकाको सिटी प्रेस पेपरको रिपोर्टअनुसार, गत महिना शाही परिवारले अजेनाथीलाई थप एक वर्ष राजाकै रूपमा राख्ने तय गरेको थियो। शाही प्रवक्ता प्रिन्स सिगानयेको दालिंदयेबोले राजा बुयेखाया शुक्रबार स्थानीय समयअनुसार रातको तीन बजे पूर्व केप प्रान्तस्थित प्यालेसमा पसेका बताए ।
उनले सरकारी टिभी च्यानल एसएबीसीलाई भनेका छन्, ‘उनले बन्चरो र धारिलो हतियार लिएर घुमिरहनु भएको थियो। बैठक कोठाको एउटा झ्याल तोड्न सफल भएपछि त्यसैबाट उनी भित्र छिरेका थिए। कार्यबाहक राजालाई खोज्दै उनी सिँढीबाट माथि जाँदै थिए। केही व्यक्तिले उनको ध्यान अन्तै मोड्ने प्रयास गरे। यसै क्रममा कार्यवाहक राजा एउटा झ्यालबाट हामफालेर सुरक्षित रूपमा भाग्न सफल भए।’

उनका अनुुसार प्यालेसमा राजाले हंगामा मच्चाए। कार्यवाहक राजाको कोठामा तोडफोड सुरु गरे। केही गोप्य दस्तावेजसमेत फ्याँकिदिए।घटनाको भिडियो फुटेजमा देख्न सकिन्छ कि निकै निराश देखिएका राजा बुयेलेखाया प्यालेस बाहिर उभिएर चुरोट तानिरहेका थिए। आफूलाई गिरफ्तार गर्न उनले प्रहरीलाई चुनौती पनि दिइरहेका थिए। अन्ततः उनलाई प्रहरीले गिरफ्तार गर्यो। राजा बुयेलेखायालाई सन् २०१८ मा जेल पठाइएको थियो। उनी सन् १९९० को दशकमा भएको उत्पीडनको आरोपमा दोषी पाइएका थिए।
उनले एक महिला र उसका ६ बच्चालाई अपहरण गरेका थिए, ती महिलाको घरमा आगो लगाइदिएका थिए भने चार युवालाई कुटपिट गरेका थिए। पिटएकामध्ये एक जनाको मृत्यु भएको थियो। उनीहरूका एक नातेदार अदालतमा पेस नभएको भन्दै राजाले यस्तो गरेका थिए।