एजेन्सी– अहिलेसम्म तपाईले सुन्नु भएको होला, रगत सबैको रातो हुन्छ। तर तपाईलाई जानकारी नहुँन सक्छ एक जीवको रगत नीलो पाइएको छ। यो निक्कै आश्चर्यजनक कुरा हो। सबैभन्दा आश्चर्य मान्नुपर्ने कुरा त यो जीवनको रगत प्रतिलिटर झण्डै १८ लाख रुपैयाँ पर्छ।
निलो रगत आउने यो जीवको नाम हो हार्स शू। यो एक दुर्लभ प्राणी हो। यो संसारको सबैभन्दा पुरानो जीवमध्येको एक हो। यो पृथ्वीको कम्तिमा ४५ करोड वर्षदेखि अस्तित्वमा रहेको छ।
गंगटो प्रजातीको यो जीव एट्लान्टिक, हिन्द र प्रशान्त महासागरमा पाइन्छ। यो जीव मे देखि जुन महिनासम्म पाइन्छ। पूर्णिमाको रातमा यो समुद्रको किनारामा देखिन्छ। यो जीवको एक लिटर रगतको अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १८ लाख रुपैयाँ पर्छ। यसलाई संसारकै महंगो तरल पदार्थ भनिन्छ।
विभिन्न कम्पनीले यसको रगतलाई विभिन्न औषधि निर्माणमा प्रयोग गर्छन्। हार्स शूको रगत सन् १९७० देखि प्रयोगमा आएको मानिन्छ। यसको सहायताले वैज्ञानिकहरुले विभिन्न उपकरण र औषधि बनाएका छन्। हरेक वर्ष ५ करोड हार्स शू को प्रयोग मेडिकल कामका लागि हुने गरेको छ।
हार्स शूको निलो रगतले कुनै पनि प्रकारको ब्याक्टेरियाको पहिचान गर्न सहयोग गर्छ। एक जीवको शरीरको ३० प्रतिशत निलो रगतले भरिएको हुन्छ। यसलाई विभिन्न प्रकारले निकालेर फेरि समुद्रमा छाड्ने गरिएको छ।
यसको रगत निकाल्ने प्रक्रियामा १० प्रतिशत हार्स शू मर्छन्। अहिलेसम्म यो जीवका चार प्रजाती सक्रिय छन्। अहिले यो जीव पनि वातावरण परिवर्तनसँगै खतरामा छ। यसको अवैध कारोबार पछिल्लो समय ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।