एजेन्सी– अन्य भाषामा निर्माण भएको राम्रो फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने चलन बढिरहेको छ। यसैबीच हिन्दी भाषामै बनेकाे फिल्म ‘द बर्निङ ट्रेन’ काे हिन्दी रिकेम बन्ने भएकाे छ। सन् १९८० मा रिलिज भएकाे एक्शन र थ्रिलर फिल्म ‘द बर्निङ ट्रेन’ काे रिमेकका लागि फिल्म निर्माता जुनो चोपड़ा र ज्याकी भग्नानीबीच सहकार्य हुने भएकाे छ।
भग्नानीले एक विज्ञप्तिमा “बर्निङ ट्रेन एउटा फिल्म हो जुन म हेर्दै हुर्किएकाे हुँ। यो बलिउडको क्लासिक फिल्म हो। मेरो साथी जुनोसँग रवि चोपडा सरले वर्षौंपछि गरेको जादूको पुनः प्रयास गर्न पाउँदा म खुसी छु।”
‘द बर्निङ ट्रेन’ फिल्ममा विनोद खन्ना, धर्मेन्द्र, परवीन बबी, जीतेंद्र, नीतू कपूर, हेमा मालिनी, विनोद मेहरा र डानी डेन्जोंगपा मुख्य भूमिकामा थिए। बीआर चोपड़ाद्वारा निर्मित यस फिल्मको निर्देशन रवि चोपड़ाले गरेका थिए। आरडी बर्मनले फिल्ममा संगीत दिएका थिए जुन अहिलेसम्म लोकप्रिय छ। रिमेक फिल्मको कास्ट र निर्देशकको घोषणा भने भएकाे छैन।