एजेन्सी– मंगलबार कंग्रेस पार्टी परित्याग गरेका भारतीय नेता ज्योतिरादित्य सिंधिया बुधबार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। कंग्रेसमा रहेर जनताको सेवा गर्न असमर्थ रहेको कारण जनाउँदै मंगलबार सिंधियाले कंग्रेसबाट राजीनामा दिएका थिए।
बुधबार उनलाई भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले भाजपामा प्रवेश गराएका छन्। मंगलबार कंग्रेसबाट राजीनामा दिनुअघि सिंधियाले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग लामो छलफल गरेका थिए।
विधानसभाको निर्वाचनमा मध्यप्रदेशमा कंग्रेसलाई विजयी गराएपछि आफूलाई मुख्यमन्त्री दिने आशामा रहेका सिंधिया पार्टीले कमलनाथलाई मुख्यमन्त्री बनाएपछि रुष्ट थिए। त्यतिबेला उनलाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै उनका समर्थकले पार्टीको निरन्तर विरोध गरेका थिए।
सिंधियाले पार्टी छाडेसँगै कमलनाथको नेतृत्वमा रहेको मध्यप्रदेशमा कंग्रेसको सरकार संकटमा परेको आँकलन गरिएको छ। नयाँ सरकार निर्माणका लागि भाजपाका नेता शिवराजसिंह चौहानले अभियान थालेका छन् भने कंग्रेसले पनि कमलनाथको सरकार टिकाइराख्न आफ्ना विधायकहरुलाई एक रिसोर्टमा जम्मा गरेको छ।
सिंधियाको राजीनामालगत्तै मंगलबार नै कंग्रेसका २२ विधायकले पार्टीबाट राजीनामा दिने बताइसकेका छन्। यद्यपि विधायकको राजीनामाबारे भने अहिलेसम्म निर्णय सार्वजनिक भइसकेको छैन। मनमोहन सिंहको सरकारमा केन्द्रीय मन्त्री रहेका सिंधिया कंग्रेसका मजबुत नेता हुन्।
पिता माधवराज सिंधियाको निधनपछि राजनीतिमा आएका ज्योतिरादित्य विगत १८ वर्षदेखि सांसद थिए। गएको निर्वाचनमा भने उनले आफ्नो क्षेत्रबाट हार व्यहोर्नुपरेको थियो। उनकी हजुरआमा राजमाता विजयाराज्य भाजपाका वरिष्ठ नेताको रुपमा लामो समय काम गरेकी थिइन्।
सिंधियाका २ फुपूहरु बसुन्धराराजे र यशोधराराजे पनि भाजपाका नेतृका रुपमा काम गरिरहेका छन्। अब ज्योतिरादित्यको भाजपा प्रवेशसँगै सिंगो सिंधिया परिवार भाजपामा एककठ्ठा भएको छ। भाजपाले ज्योतिरादित्यलाई के भूमिका दिन्छ त्यसबारे भने अहिले एकिन छैन।