प्योङ्याङ– उत्तर कोरियामा करिब दुई सय उत्तर कोरियाली सैनिक कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ले जनाएको छ।
डेली एनकेले दाबी गरेअनुसार ६ मार्चमा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो। रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख गरिएको छ। त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ। ज्यान गुमाएका अधिकांश सैनिकहरू सिनो उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए।
उत्तर कोरियामा केही सैनिकहरुको उच्च ज्वरो तथा निमोनियाका कारण मृत्यु भएपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात उक्त रिपोर्ट बाहिर आएको हो। त्यस्तै क्वारेन्टाइनमा राखिएका बिरामीहरुको समेत तथ्यांक उल्लेख गर्न सैनिक नेतृत्वले अस्पताललाई आदेश दिएको थियो।
उक्त रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको डेली एनकेले जनाएको छ। साथै सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको बताइएको छ।