बर्लिन– सोमबार जर्मनी सरकारले ग्रीसका शरणार्थी शिविरमा बेसहारा बनेका १ हजार ५ सय बालबालिकालाई शरण दिने निर्णय गरेको छ।
अनुदारवादी दलहरुको गठबन्धन (सीडीयू–सीएसयू) र समाजवादी प्रजातानित्रक दल –एसपीडी)को संयुक्त सरकारले उक्त निर्णय गरेको छ। जर्मनी सरकारका गठबन्धन दलकोअनुसार,‘अधिकांश १४ वर्षमुनिका बालिका बेसहारा बालबालिकालाई ग्रीसलले यस कठीन अवस्थामा मानवीय सहयोग पुर्याउनपर्ने हो।’ सत्ताधारी दलहरुको गठबन्धन समितिले बताएअनुसार ती बालबालिका गम्भीर बिरामी परेका अवस्थामा छनु वा अभिभावकबाट छुटेको अवस्थामा बेसहारा बनेका छन्।
यसका लागि जर्मनीले यूरोपेली मापदण्डअनुसार यूरोपेली संघ (ईयू) मा छलफल र आवश्यक प्रक्रियापछि जर्मनीको चाहनाअनुरूप शरणार्थी प्रक्रियामा सामेल गरिनेछ। यूरोपेली मुलुकले चाहेमा ईयूमा छलफलै नगरी पनि मानवीय सहयोगका लागि शरण दिन भने कुनै रोकतोक छैन। गत साता जर्मनीका विभिन्न सात शहरका नगर प्रमुख र लोअर स्याक्सोनीका आन्तरिकमन्त्री बोरिस पिस्टोरियसले जर्मन सरकारलाई खुलापत्र लेखी ग्रीसको शरणार्थी शिविरमा बेसहारा बनेका बालबालिकालाई यथासम्भव छिटो सहारा दिन आग्रह गरेका थिए।
यसअघि ग्रीसले शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको थियो। ग्रीसेली प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले ग्रीसको सीमाक्षेत्रमा रोकेको जानकारी दिएका थिए। ग्रीसको सीमाक्षेत्रमा यूरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थी बस्दै आएका छन्। ग्रीसको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच झडप हुने गरेका छन्। गत सातादेखि ग्रीसले शरणार्थीलाई उनीहरूकै देश फिर्ता गर्ने बताएको थियो। ग्रीसले पछिल्लो समय आप्रवासीमाथि ज्यादती गरेको आरोप लाग्दै आएको छ।