एजेन्सी– अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २९ पुगेको छ। त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या बढेसँगै त्यहाँ आपतकाल घोषणा गरिएको छ।
कान्सस, मिसाउरी र वाशिङ्ग्टनमा भाइरस संक्रमण फेला परेसँगै अमेरिकाको आधा राज्यहरुमा कोरोना देखिइसकेको छ। हालसम्म अमेरिकामा ४ सय भन्दा बढीमा कोरोना संक्रमण भेटिएको छ।
शनिबार वाशिङ्गटनको सर्वाधिक प्रभावित किङ्ग काउन्टीमा दुईको मृत्यु भएको थियाे भने शुक्रबार पनि फ्लोरिडा राज्यमा दुई जनाको मृत्यु भएको थियो। यता न्युयोर्कमा संक्रमितको संख्या १३ पुगेपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो।
क्यालिफोर्नियामा पनि ग्रान्ड प्रिन्सेस पानीजहाजमा २१ संक्रमित भेटिएपछि जहाजमा रहेका सबै ३५ सय जनालाई जहाजमै राखिएको छ। सान फ्रान्सिस्कोको बन्दरगाहमा डक हुनुपर्नेमा जहाजमा भाइरस देखिएपछि हाल ग्रान्ड प्रिन्सेसलाई समुन्द्रमै राखिएको छ।
अब एक अज्ञात बन्दरगाहमा सबै यात्रुको परीक्षण गरेर क्वारेन्टिनमा राख्नु पर्नेलाई क्वारेन्टिनमा तथा उपचारको आवश्यकता पर्नेलाई अस्पताल लगिने उप राष्ट्रपति माइक पेन्सले बताएका छन्।
त्यस्तै मेरिल्यान्डमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स सहभागी कन्फरेन्सका एक जना सहभागीमा कोरोना देखिएको छ। ती व्यक्तिको ट्रम्प वा पेन्ससँग कुनै सम्पर्क भने नभएको बताइएको छ।
भाइरस हालसम्म ९० देशमा फैलिएर ३४ सयको ज्यान लिइसकेको छ भने १ लाख भन्दा ज्यादामा संक्रमण देखा परिसकेको छ।