एजेन्सी– विश्वमा नै गम्भीर समस्याको रुपमा देखा परेको कोभिड-१९ कोरोना भाइरसको संक्रमणका कारण इटालीमा उच्च सतर्कता अपनाइएको छ। आइतबार बिहानसम्म इटालीका करिब १ करोड ५० लाखलाई क्वारेन्टाइनमा राखिएको समाचार एजेन्सी एएफपीले जनाएको छ।
यस भाइरसबाट चीनपछि इटालीमा सबैभन्दा धेरैको ज्यान गएको छ। पछिल्लो जानकारी अनुसार इटालीमा २३३ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय भन्दाबढीमा संक्रमण देखिएको छ। अति जरुरी काम नपरेसम्म क्वारेन्टचाइनमा क्षेत्रबाट बाहिर निस्कन र त्यो क्षेत्रमा पस्न विषेध गरिएको छ।
सिनेमा हल, थियटर, म्युजियम, नाइट क्लब जस्ता सामूहिक भेला हुने क्षेत्रहरु देशैभर बन्द गरिएको छ। होटल रेष्टुरेन्टहरुमा पनि ग्राहकलाई एकअर्काबाट केही मिटरको दूरीमा मात्रै बस्न मिल्ले व्यवस्था गर्न निर्देशन दिइएको छ।